निर्माणाधीन भवनको काम पूरा नहुँदै रकम निकासा

समाचार

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा निर्माणाधीन भवनको काम पूरा नहुँदा नै रकम निकासा भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७६÷०७७ बजेट अन्तर्गत निर्माण भइरहेको भवनको निर्माण कार्य भइनसक्दा नै त्यस वापतको रकम निकासा भएको छ । प्रदेश सरकारको सर्शत अनुदान अन्तर्गत गाउँपालिकाको वडा नं. ३ पकहामैनपुरस्थित रहेको श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा निर्माण भइरहेको भवनको काम अधुरै रहेको अवस्थामा सम्पूर्ण रकम निकासा भइसकेको बताइएको छ ।

गत आर्थिक बर्षको रु २० लाखको योजनामा त्यस गाउँपालिकाकै स्थानीयहरुको उपभोक्ता समितिको निगरानीमा निर्माण भइरहेको उक्त भवनको कार्य ६५ प्रतिशत मात्रै सम्पन्न भएको अवस्थामा उपभोक्ता समिति लगायत गाउँपालिकाका प्रतिनिधिहरुको मिलोमतोमा रकम निकासा भएको स्थानीयहरुको भनाइ छ । नेपाल सरकारको नियम अनुसार निर्माण कार्य सम्पन्न भएमात्रै रकम निकासा गर्ने भएपनि उक्त नियमलाई चुनौति दिदै स्थानीय जनप्रतिनिधिले पाएको अधिकारलाई दुरुपयोग गर्दै रकम निकासा गरिएको बताइएको छ ।

निर्माणाधीन भवनको छत ढलानसम्मको काम भएपनि फिनिसिङ्को काम अझै बाँकी रहेको छ । भवनको छत ढलान गरिएपनि त्यसमा वायरिङ्देखि लिएर पम्लबर लगायत कुनै किसिमको काम हुन सकेको छैन । रकम निकासा भइसकेपछि अब बाँकी कार्यलाई उपभोक्ता समितिले निरन्तरता दिनेछ भन्नेमा विश्वस्त नरहेको स्थानीयहरुको भनाइ छ ।

गाउँपालिकाका जनप्रतिनिधि लगायत कर्मचारी तथा उपभोक्ता समितिको मिलोमतोमा काम नै नभइ रकम निकाशा भइसकेकोले बाँकी अधुरो काम पूरा हुने देखिदैन । यस विषयमा गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत महेश सिंहसँग बुझ्न खोज्दा उनी सम्पर्कविहीन भएका छन् । तर यसबारे योजना शाखाका रामप्रवेश चौरसियासँग सोधबुझ गर्दा योजनाबारे फाइल हेरेर मात्रै बताउन सकिने जानकारी दिए । उनले योजनासहित त्यसमा भएको कामबारे सबै कम्प्युटरमा इन्ट्री गरिएको र कम्प्युटर शाखाको कर्मचारी कार्यालय नआएको कारण अहिले तत्काल बताउन नसकिने जानकारी दिए ।

त्यस पश्चात लेखापाल नागेन्द्र चौधरीसंग फोनमा सम्पर्क गर्दा उनले पनि बताउन चाहेनन् । उनले प्रदेश सरकारको सर्शत तर्फ कै अनुदान हो, निकास भएको हुन सक्छ तर फाइल देखेर मात्रै बताउन सकिने भन्दै पन्छिए । काम पूरा नभएको अवस्थामा कसरी रकम निकासा भयो भनेर बुझ्दा ‘काम भए जतिको रकम निकासा हुन सक्छ, बाँकी सबै कुरा मलाई याद हुँदैन, म त त्यहाँ धेरै कम जाने गर्छु, दुई तीन वटा कार्यालयको जिम्मेवारी छ, फाइल हेरेर मात्रै बताउन सकिने’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *